काठमाडौं (हाम्रो खेलकुद)- अस्याङ एफसीले दक्षिण कोरियामा रहेका नेपालीबीच आयोजना गरिएको दोस्रो ह्वासेओङ एनएफसी फुटसल कप २०२६ को उपाधि जितेको छ।
ह्वासेओङ नेपाल युनाइटेड फुटबल क्लबको आयोजनामा आज भएको चोनानस्थित फुटसल मैदानमा भएको फाइनलमा धनकुटा एफसीलाई २-० ले हराउँदै अस्याङ एफसीले उपाधि जितेको हो । अस्याङको जितमा लुकास घोले र किरण जबेगुले समान १–१ गोल गरेका थिए।
ट्रफीसहित अस्याङले ३५ लाख कोरियन वोन पुरस्कार हात पारेको हो। दोस्रो धनकुटा एफसीले २० लाख वोन प्राप्त गर्यो।सेमिफाइनलमा पुगेका अन्य दुई टोलीले भने समान ४ लाख वोन पुरस्कार पाए।

व्यक्तिगत विधातर्फ अस्याङ एफसीका लुकास घोले प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। त्यस्तै सोही टोलीका सन्देह गुरुङ उत्कृष्ट गोलकिपर बने। मोक्पो एफसीका अभिनाश कार्की सर्वाधिक गोलकर्ता बनेका छन्। व्यक्तिगत विधाका विजेताले जनही १ लाख वोन पुरस्कार प्राप्त गरे।
सुदूरपश्चिम समाज दक्षिण कोरियाका महासचिव सुरेन गिरीका अनुसार उक्त प्रतियोगिताले दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता र भाइचाराको सन्देश फैलाउन महत्वपूर्ण योगदान दिएको छ।
प्रतियोगितामा कोरियाका विभिन्न शहरबाट ४४ टोलीको सहभागिता थियो।






